काठमाडौँ l सरसफाइ सम्बन्धी मापदण्ड पालना नगरेको,भुइँमा खसेको चाउचाउ उत्पादनमा प्रयोग गरेको आरोपसहित सिजी फुड्स इण्डिया प्रालिमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
राजस्थानको अजमेरस्थित रुपनगढमा रहेको कारखानामा भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयअन्तर्गतको फुड सेफ्टी एण्ड स्ट्याण्डड्र्स अथोरिटी अफ इण्डियाले अनुगमनको क्रममा उक्त कैफियत फेला पारेको बताइन्छ ।
अनुगमनको क्रममा कारखानाभित्र भुइँमा खसेका चाउचाउ भुजिया उत्पादनमा प्रयोग गरेको,अगाडिको मिति राखेर प्याकेजिङ गरेको तथा इजाजतपत्रबिना वाइवाइ मामा र वाइवाइ मामा पुन्टे उत्पादन गरेर ‘फुड सेफ्टी एण्ड स्ट्याण्डड्र्स एक्ट, २००६’ को दफा ३१ (१) को प्रत्यक्ष उल्लंघन गरेको सरकारी दाबी छ । त्यसैगरी, कारखानाबाट टुक्रा र म्याद गुज्रिएका एक हजार ९२५ बाकस चाउचाउ पनि बरामद गरिएको छ।
अभिलेख तथा खाद्य सुरक्षा मापदण्ड पालनामा प्रालिबाट लापरवाही गरेवापत प्रयोगशाला परीक्षणका लागि चाउचाउ र त्यसमा प्रयोग हुने तेलको नमूना संकलन भएको छ ।
नियामक निकायले कम्पनीलाई स्वीकृतिबिना भेज भुजिया नम्किन उत्पादन बन्द गर्न निर्देशन दिएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि सोही आधारमा थप कारबाही गरिने जनाइएको छ।