काठमाडौं । सर्वोच्च अदालतमा बुधबार (भदौ १७) राति भएको आगलागीका विषयमा विभिन्न कोणबाट छानबिन सुरु भएको छ ।
नयाँ भवनको भुइँतलामा आगलागी हुँदा कागजपत्र र मिशिलहरू जलेका छन् । आगलागीको विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र सर्वोच्च प्रशासनका तर्फबाट भिन्नाभिन्नै छानबिन सुरु भएको हो ।
प्रहरीले आगलागीको सूचना प्राप्त भएपछि सर्वोच्च अदालत भवनको भुइँतलाको हलमा पुगेर घटनास्थल मुचुल्का उठाएर विवरण संकलन गरेको छ ।
फरेन्सिक विज्ञ टोलीबाट पनि अनुसन्धानका लागि आगजनीस्थल पुगेर विवरणहरू संकलन गरिएको छ ।
“अवाञ्छित गतिविधिका कारण हो वा विद्युत् सर्ट भएर घटना भएको भन्ने विषयमा छानबिनपछि तथ्य आउनेछ,” सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले भने, “नजिकै पावर सर्किट पनि जलेका कारण त्यही नै हो कि जस्तो पनि देखिन्छ । के कसरी भएको हो भनेर विभिन्न कोणबाट अनुसन्धान हुँदै छ ।”
आगलागीका कारण मिशिलहरू जलेका छन् । आगलागीको जानकारीपछि सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।