काठमाडौं । रसुवामा आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको चिरशान्ति, मुक्ति तथा सद्गतिको कामना गर्दै तीनदिने अमिताभ बुद्ध पूजा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बौद्ध शान्ति समाज, स्वयम्भू, स्नोल्याण्ड रानाग स्कुल, बूढानीलकण्ठ तथा नेपाल बोन बुद्धिष्ट महासंघ, बौद्ध काठमाडौंको आयोजनामा स्वयम्भूस्थित थेक्सुम छ्योफेलिङ गुम्बामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी बौद्ध गुरुहरूले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

समापन कार्यक्रममा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका निवर्तमान अध्यक्ष खेन्पो मुरी निग्मा कुन्क्याप रोकायाले रसुवा बाढीमा परी ज्यान गुमाएका मानव तथा प्राणीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गरे।

उनले विश्व शान्तिका लागि भगवान् बुद्धको ज्ञान र शिक्षालाई सबैले फैलाउनुपर्ने बताउँदै विपद्मा परेका नागरिकको उद्धार र राहतका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

“विपद् जसलाई पनि पर्न सक्छ। त्यसैले दुःखको घडीमा हामी सबैले हातेमालो गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्नुपर्छ,” रोकायाले भने।

कार्यक्रमको पहिलो दिन प्रमुख गुरु परमपावन टुल्कु रानाग रिन्छेन रिन्पोछे (डोल्पो बुद्ध)ले रसुवा बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मानव तथा प्राणीहरूको चित्तको मुक्ति, शान्ति एवं सद्गतिको कामना गरे।

उनले विपद्मा परेका नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। विपद् पीडितलाई धन, मन र वचनले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी नेपाल बोन बुद्धिष्ट महासंघका महासचिव इन्द्र रोकाय (शेराप)ले रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट उद्धार तथा राहत कार्यमा सक्रिय हुनुपर्ने बताए।
उनले सरकारले विपद्मा परेका नागरिकहरूको उद्धार, उपचार तथा बसोबासको उचित व्यवस्थापन गर्न सक्दो पहल गर्नुपर्नेमा जोड दिए।
“सबै काम सरकारले मात्र गर्न सक्दैन। त्यसैले हामीले पनि सरकारलाई सहयोग गर्नुपर्छ। कार्यक्रममा सहभागी बौद्ध गुरुहरूमार्फत विश्वका विभिन्न देशलाई समेत सहयोगका लागि अपिल गर्नेछौं,” रोकायाले भने।

तीनदिने पूजा तथा दीप प्रज्वलन कार्यक्रममा नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष पाल्साङ बज्र लामा, आचार्य छेवाङ (तिरकुमार घलान), प्राविधिक तथा अभियन्ता इन्जिनियर ज्ञानबहादुर शेर्पालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समितिले समेत सहकार्य गरेको थियो।

कार्यक्रममार्फत रसुवा बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति तथा सद्गतिको कामना गरिएको थियो।

नेपाल बोन बुद्धिष्ट महासंघका महासचिव रोकायाका अनुसार बौद्ध परम्पराअनुसार २१ दिने पूजा तथा अन्तिम ४९ दिने पूजा त्रिशूलीमा समेत आयोजना गरिनेछ। Pc By Roman Budha Magar





