काठमाडौँ । पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरमा त्रिशुली नदीले सड्क कटान गरेपछि मुलुकको मुख्य लाइफलाइन पूर्ण रूपमा अवरुद्ध भएको छ।
बुधबार पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उपत्यकामा खाद्यान्न आपूर्ति सुचारु गर्न १२ चक्के मालवाहक सवारी मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथहुँदै सञ्चालन गर्ने निर्णय गरेको छ।
भैँसेबाट पालुङहुँदै नौबिसेबाट १२ चक्के ट्रक सञ्चालन गर्ने निर्णय गरिएको छलफलमा सहभागी मन्त्रालयका एक अधिकृतले जानकारी दिए। ती सवारी नौबिसेबाट पातलेबन हुँदै नागढुंगा आउन पाउँछन् ।
काठमाडौँ प्रवेश गर्ने नाका नागढुंगा नजिकै पातलेबनमा पनि पहिरो गएको छ । पातलेवनमा समस्या भएमा भिमढुंगाबाट सितापाइला हुँदै मालवाहक सवारी सञ्चालन गर्नेबारे छलफल भएको छ। मालवाहक सवारी एकतर्फी मात्रै सञ्चालन गरिने छ ।
काठमाडौँबाट सामान लिन जाँदा १२ चक्के सवारीसाधन ललितपुरको एकान्तकुना हुँदै छम्पी र टिकभैरवबाट कान्तिलोकपथहुँदै हेटौँडा पुग्ने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ। दुवै रुटमा ग्यासका बुलेट चल्न पाउँदैनन् । ग्यास रिफिङ गरिएका सिलिन्डर बाहक ट्रक त्रिभुवन राजपथबाट चल्नेछन् ।
पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरू, सडक विभाग, आयल निगमका कार्यकारी प्रमुख, यातायात व्यवसायी र प्रहरी प्रधान कार्यालय स्थित ट्राफिक निर्देशनालयका अधिकृतहरूले छलफल गरेर सो निर्णय गरेका हुन्
।
साना सवारी साधन बल्खुबाट फर्पिङहुँदै हेटौँडा तर्फ सञ्चालन गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक जना अधिकृतले बताए । १४ सिटभन्दा साना यात्रुवाहक सवारी साधन दक्षिणकाली र फाखेल हुँदै हेटौँडातर्फ जान पाउनेछन्।