काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्ने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने भन्दै दुई निकायसँगको समन्वयमार्फत परिचालन गर्ने बताएका हुन् । शनिबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले उद्धारका लागि इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने उल्लेख गरे ।
भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै विदेशी उद्धार टोलीहरूलाई नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अनुमति प्रक्रिया मिलाइएको उनले बताए ।
”सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगहरूसँग समन्वय गरिरहेका छौँ । भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई ख्याल गरेर समन्वयमार्फत उद्धार टोलीहरूलाई अनुमति दिने प्रक्रिया मिलाइएको छ,” उनले भने ।
विनाशको स्तर भयानक रहेकाले उद्धार र राहतमा मात्रै नभएर पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा ठूलो सहायताको आवश्यक पर्ने उनले बताए ।
”नेपालले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई अस्वीकार गर्यो भन्ने खबर सत्य होइन । विनाशको स्तर ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ,’’ उनले भने ।
उद्धार तथा राहतको काम सकिए लगत्तै सरकार प्रभावित नागरिकहरूको पुनर्स्थापनामा केन्द्रित हुने उनले बताए ।