• भाद्र १३ २०८३, शनिबार

परिवारसँग क्षमा माग्दै पहिचान नखुलेका सबै शवकाे देवघाट नजिक दाहसंस्कार गरिने

भाद्र १३ २०८३, शनिबार

नारायणगढ । रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्‍याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सङ्कलन गरिएका शवहरूमध्ये ४ वटाको मात्र पहिचान भएको र बाँकी शवहरू तीव्र रूपमा सड्न थालेकाले जिल्लामा महामारी फैलिने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो बाध्यकारी निर्णय लिइएको हो।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलित शव एवम् शवका अवशेषहरू कुहिन थालेपछि सङ्क्रमण र महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनीका आधारमा थप सड्न-गल्न नदिन सुरक्षित रूपमा व्यवस्थापन गर्न लागिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भविष्यमा पहिचान गर्न सहज होस् भन्नका लागि प्रत्येक शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिनेछ।

पहिचान नभएका सबै शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिनेछ।

बाध्यतात्मक परिस्थितिका कारण शवहरूलाई जमिन मुनि गाडेर व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शोकसन्तप्त पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ।