काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । उपराष्ट्रपति रामशहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे ।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारी साधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारी साधनसम्म दर्शनीमा राखिएका छन् ।
हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डा लगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।
यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता छ ।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन् । त्यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको नाडाले जनाएको छ ।
आजदेखि सुरु भएको अटो शो १४ भदौसम्म ६ दिन सञ्चालन हुनेछ । अटो शो अवधिमा अटोमोबाइल सम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारी साधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रम समेत हुने नाडाले जनाएको छ ।