• भाद्र ७ २०८३, आईतवार

गोर्खाको वंशजको नागरिकता निरन्तरताको मुद्दा लिएर सीएनसीबीजीका उपाध्यक्ष बुढाथोकी नेपालमा, नागरिकताको विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने

भाद्र ७ २०८३, आईतवार

लण्डन । गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको मागलाई थप प्रभावकारी रूपमा अघि बढाउन ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी) का उपाध्यक्ष दलबहादुर बुढाथोकी नेपाल पुगेका छन्।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी) का महत्वपूर्ण एजेन्डासँगै व्यक्तिगत काम लिएर नेपाल पुगेका बुढाथोकीले गोर्खाहरूको वंशजको नागरिकता निरन्तरताको विषयमा नेपाल सरकारको पछिल्लो धारणा र अवस्थाबारे जानकारी लिने तथा सम्बन्धित निकायसँग छलफल गर्ने भएका छन्।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी)का अध्यक्ष थर्क रानाका अनुसार बुढाथोकीले नेपालस्थित सीएनसीबीजीको टिम तथा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै नागरिकताको मुद्दालाई निष्कर्षमा पुर्‍याउन आवश्यक पहल गर्नेछन्।

“गोर्खाहरूको वंशजको नागरिकता निरन्तरताको साझा समस्या समाधानका लागि यो महत्वपूर्ण समय हो। सरकारको पछिल्लो धारणा बुझेर आवश्यकताअनुसार सहयोग, सहकार्य वा विरोधका कार्यक्रमबारे आगामी रणनीति तय गरिनेछ,” अध्यक्ष रानाले बताएका छन्।

सीएनसीबीजीले लामो समयदेखि ब्रिटिस गोर्खाहरूको वंशजलाई नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ। उक्त मागलाई निष्कर्षमा पुर्‍याउन नेपालमा रहेका गोर्खा समुदाय तथा सम्बन्धित संघ–संस्थाबीच एकता र सहकार्य आवश्यक रहेको अध्यक्ष रानाले बताएका छन्।

रानाले नागरिकताको साझा मुद्दामा नेपालमा रहेका सम्पूर्ण गोर्खाजन तथा सम्बन्धित संघ–संस्थालाई एकताबद्ध भएर आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नसमेत अपिल गरेका छन्। pc-cncbg