काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउन खोजेकोमा आपत्ति जनाएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ढुङ्गानाले सरकारको यो कदमले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजेको आरोप लगाएका हुन्।
निर्दलीय व्यवस्था चलाउन खोजिएको हो भने आफूहरू लोकतन्त्रका लागि बलिदान दिन तयार रहेको उनले बताएका छन्। २००३ सालको विराटनगर जुट मिल आन्दोलनका साथै बिपी कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रका लागि भोगेको जेल जीवनको स्मरण गराउँदै वर्तमान परिवर्तन आन्दोलनकै जगमा उभिएको उनले स्पष्ट पारे।
‘अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी युनियनहरू बन्द गरेर के तपाईं निर्दलीय व्यवस्था चलाउन खोज्नुभएको हो?,’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘यदि त्यसो हो भने हामी लोकतन्त्रका लागि पुनः बलिदानी दिन तयार छौँ।’
विगत ३५ वर्षमा मुलुकमा केही काम नभएको भनी भइरहेको प्रचारको खण्डन गर्दै ढुङ्गानाले सो अवधिमा सडक, अस्पताल, विद्यालय र विश्वविद्यालयहरूको निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गरे। तथ्याङ्क हेर्न र नपढीकन नकारात्मक भ्रम नफैलाउन उनले आग्रह गरेका छन्। अर्थतन्त्रको प्रसङ्गमा वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै विगतको भनाइ उद्धृत गर्दै महेश आचार्य र रामशरण महत अर्थमन्त्री भएको समयमा मुलुकको अर्थतन्त्रले गति लिएको स्मरण गराए।
यस्तै सांसद ढुङ्गानाले निर्वाचनको समयमा जनकपुरमा प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीले जनकपुरमा गएर एउटा र काठमाडौँमा अर्को कुरा गर्ने गरेको भन्दै उनले सङ्घीयताका विषयमा सत्तापक्षको धारणा स्पष्ट नभएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ सङ्केत गर्दै सङ्घीयता तोड्ने प्रस्ताव ल्याउनेहरूसँगको सहकार्यले जनतामा अविश्वास पैदा गरेको उनले उल्लेख गरे।