• श्रावण २८ २०८३, बिहीबार

रास्वपा जगले धान्नेभन्दा ठूलो आकारको बन्यो कि भन्ने महसुस हुन्छ : रवि लामिछाने

श्रावण २७ २०८३, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताए ।

“विकल्प खोज्नु मात्र समाधान होइन, आफैमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो । रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ,” उनले भने ।

आजको भोलि नै परिणाम खोज्ने ‘लत’ले गर्दा बारम्बार विकल्पको खोजी भइरहने उल्लेख गर्दै उनले रास्वपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको बताए ।

“जब कोही सही बाटोबाट विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ, तब मात्र विकल्पको खोजी हुन्छ,” उनले भने, “हामीले यस्तो काम गर्नुपर्छ कि जनताले हाम्रो अर्को विकल्प खोज्नु नपरोस् ।
पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उनले जगभन्दा संरचना (स्ट्रक्चर) ठूलो भएको बताए । जनताको तीव्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उनको भनाइ छ ।

“जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन । युवाहरूको चाहना र परिवर्तनको आवश्यकताले गर्दा रास्वपा जगले धान्न सक्नेभन्दा ठूलो आकारको बनेको हो कि भन्ने मलाई महसुस हुन्छ,” लामिछानेले भने, “अब यसलाई सुरक्षित र सुदृढ बनाउन जहाँ–जहाँबाट आवश्यक पर्छ, त्यहाँ टेको दिएर अड्याउन हामी तयार हुनुपर्छ ।”

उनले पार्टीलाई जगैदेखि मजबुत बनाउँदै आगामी दिनमा जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।