• श्रावण २६ २०८३, मंगलवार

बेलायतमा ३२औँ विश्व आदिवासी/मूलवासी दिवस भव्य रूपमा मनाइयो

श्रावण २६ २०८३, मंगलवार

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले  ३२औँ विश्व आदिवासी/मूलवासी दिवसको अवसरमा अगस्ट ८, २०२६ का दिन वोकिङस्थित ज्ञाम्बल ल्यान्समा रहेको किराँत राई यायोक्खा बेलायतको मैदानमा विभिन्न कार्यक्रमसहित दिवस भव्य रूपमा मनाएको छ।

महासंघका अध्यक्ष रि. मेजर योगेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव फराम दुराको सञ्चालनमा बिहानदेखि बेलुकासम्म चलेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका लागि बेलायतस्थित कार्यवाहक राजदूत (Chargé d’affaires a.i.) विपिन दुवाडीको उपस्थिति रहेको थियो।

कार्यक्रममा महासंघमा आबद्ध विभिन्न संस्थाहरूले आ–आफ्ना मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी प्रस्तुत गरेका थिए। त्यस्तै, बेलायत तथा नेपालबाट आमन्त्रित कलाकारहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।

दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगितामा ७ महिला टोलीसहित २५ टोलीको सहभागिता रहेको आयोजक तथा महासंघका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए।

यसैबीच, ब्रिटिश गोर्खाको वंशजको नेपाली नागरिकता निरन्तरता अभियान संस्था CNCBG ले पनि र्‍यालीमार्फत आफ्ना मागहरू अघि सारेको थियो। अभियानले हालै ब्रोड पिक आरोहणका क्रममा दिवंगत भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) लाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेको थियो।

त्यसैगरी, गोर्खा भर्तीका कारण बेलायतमा बस्न बाध्य भएका तथा बस्नुपर्ने नेपाली मूलवासी गोर्खा र उनीहरूका सन्ततिहरूको वंशजको नेपाली नागरिकता संविधान संशोधनमार्फत अविच्छिन्न रूपमा कायम रहने व्यवस्था तत्काल गर्नुपर्ने माग पनि अभियानले अघि सारेको थियो।

CNCBG ले आफ्ना मागसहितका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गर्दै अभियानमा जोडिन र नेपाली मूलवासीहरूको नागरिकताको अधिकार सुनिश्चित गर्न एकताबद्ध हुन सम्पूर्ण नेपाली मूलवासी समुदायलाई आह्वान गरेको थियो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायत (NEFIN UK) का संस्थापक अध्यक्ष थर्क रानालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

विश्व आदिवासी/मूलवासी दिवसले आदिवासी जनजातिका पहिचान, अधिकार, भाषा, संस्कृति, परम्परा र पुर्ख्यौली भूमिसँग जोडिएका सवाललाई उजागर गर्दै विश्वभरका आदिवासी समुदायलाई अधिकार र पहिचानका लागि थप एकताबद्ध हुन प्रेरणा दिने आयोजकले जनाएको छ।pc-cncbg