• श्रावण २० २०८३, बुधबार

कोशीमा केपीको योजना असफल, हिक्तम कार्कीले नै निरन्तरता पाउने

श्रावण २० २०८३, बुधबार

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सचिव हिक्तम कार्कीकै निरन्तरता हुने भएको छ । प्रदेश सरकारका विषयमा बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोसीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफलमा त्यस्तो निष्कर्ष निक्लिएको हो ।

छलफलमा ओलीले कार्कीकै निरन्तरता हुने तर आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीसहित मन्त्रीहरुले राजीनामा दिनुपर्ने शर्त राखेका छन् ।

“यसैगरी चल्दै जाने, अध्यक्षले उपयुक्त वातावरण जतिखेर देख्नुहुन्छ । त्यतिबेला सबैले निर्देशन मान्नुपर्ने, बस्नुपरे बस्ने छोड्नुपरे छोड्ने निष्कर्षमा पुगियो,” अध्यक्ष खतिवडाले गुन्डुमा भएको छलफलका बारेमा जानकारी दिँदै भने ।
खतिवडाका अनुसार अहिले गठबन्धनलाई मिलाएर कार्कीकै नेतृत्वमा अघि बढ्ने निष्कर्षमा पुगिएको छ ।

“अहिले गठबन्धन मिलाएर उहाँकै नेतृत्वमा जाने । अध्यक्षले छोड्नू भनेका बेला मुख्यमन्त्री, मन्त्री सबैले छोड्ने सहमति भएको छ,” उनले बाह्रखरीसँग भने । तर ओली अहिले नै छाड्नुपर्ने अवस्थामा थिए बिहानसम्म ।

कार्कीसहित पार्टीका अन्य नेताले अहिलेको सरकारलाई नै निरन्तरता दिनुपर्ने अडान नछाडे पछि ओली ‘गल्ने अवस्थामा पुगेको’ एक नेताले जानकारी दिए ।

कोसीमा अध्यक्ष ओलीले तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेपछि एमालेमा विवाद भएको थियो । उनले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिनका निम्ति पार्टी सचिव शेरधनलाई खटाएका थिए ।

तर, हिक्मतले राजीनामा दिन अटेर गरे । मेन्याङ्बोको पक्षमा हस्ताक्षर अभियान पनि चलेको थियो । विवाद मिलाउनका निम्ति ओलीले मुख्यमन्त्री कार्कीसहितका नेतालाई काठमाडौं बोलाएका थिए ।