• श्रावण १६ २०८३, शनिबार

मुलुक र पार्टीहरू दुवै संकटको भुमरीमा रहेकाे कांग्रेस संसथापनइतर समूहकाे भनाइ

श्रावण १६ २०८३, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् ।

शनिबार (साउन १६) समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे ।

नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उनले उल्लेख गरे । उनले यसको प्रत्यक्ष असर कांग्रेसमा परेको बताए ।

उनले ०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणामाथि सांघातिक आक्रमण र कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गरे । त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकामा त्यसो हुन नसकेको उनले बताए ।

“पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,” उनले भने ।

देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको र लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरे ।

साथै, सुनसरीको देवानगञ्जबाट सुरु भई मधेस प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति उनले दुःख व्यक्त गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गरे ।

उनले भने, “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।”

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको राष्ट्रिय भेलामा वर्तमान तथा पूर्वपदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृसंगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ ।

यो अभियानमा पार्टीका अर्का नेता डा. शेखर कोइरालाको पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएका उनले जानकारी दिए ।

राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको उनले बताए ।