काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफू संघीयताविरोधी नभएको बताएका छन्। सिंहदरवारमा मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले सपनामा पनि आफूलाई संघीयताविरोधी नसोच्न आग्रह गरेका हुन्।
नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री शाहले संघीयताका विषयमा प्रष्टरूपमा आफ्नो विचार प्रस्तुत गरेको बताए। चितवन महाधिवेशनमा संघीयताका सम्बन्धमा आएका विषय सच्याउनुपर्ने प्रधानमन्त्रीको जोड रहेको नेता महतोको भनाइ छ।
‘संघीयताप्रति जुन शंका छ। त्यो सपना पनि नसोच्नुहोला कि म संघीयता विरोधी हुँ। चितवन महाधिवेशनमा यस विषयमा जुन कुरा उठेको छ त्यसलाई सच्याउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महतोले भने। प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकारले विश्वास घात नगर्ने प्रतिवद्धता जनाएको महतोको भनाइ छ।
आफूहरूले सुनसरीलगायतमा देशमा फैलिएको साम्प्रदायिकता छिटो रोक्न सुझाव दिएको उनले बताए। ‘सरकारले रेस्पोन्स नगरेसम्म रोकिँदैन नि। त्यसका लागि हामी सहयोग गर्न तयार छौं भनेका छौं। तीन चार दिन पहिल्यै प्रधानमन्त्रीले सक्रियता लिएको आज यो अवस्था आउने थिएन,’ उनले भने।
त्यस्तै जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भने, ‘प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौं।’
अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए। उनले भने, ‘अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्यापिड एक्सन टिम गठन गर्नका लागि सुझाव दिएका छौं, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौं।’
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे। उनले भने, ‘यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौं।’
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरदसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए।