काठमाडाैं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सुनसरीमा भएको हिंसात्मक घटनाबाट उत्पन्न संकटको समाधान गर्नको सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
बिहीवार संघीय संसद परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार, सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर मुलुकमा उत्पन्न समस्याको हल निकाल्नुपर्ने बताएका हुन् ।
उनले संविधान, कानून वा राजनीतिक विषयमा असहमति भएपनि आफ्ना मागहरु पूरा गराउन हिंसाको बाटो रोज्नु उपयुक्त नहुने बताए । उनले सनसरी घटनालाई साम्य पार्न सरकारको उपस्थितिमाथि गम्भीर प्रश्न उठाए । उनले मुलुकमा धर्मको नाममा हिंसा फैलिँदा समेत सरकार मौन बसेको आरोप पनि लगाए । उनले सरकारको सुरक्षा कमजोरी र प्रशासनिक कमजोरीको कारण सुनसरी घटना भएको समेत बताए ।
उनले भने, ‘सुनसरीमा एकदमै दुःखलाग्दो कुरा भएको छ । यस्तो बेलामा सरकार, सत्तापक्ष र प्रतिपक्ष सबै एकठाउँमा उभिनुपर्ने हो । हाम्रो कानून र संविधानसँग असहमति हुनसक्छ । विभिन्न दल, समूदाय र संस्थाहरुका आ–आफ्नै मागहरु हुनसक्छन् । तर आफ्ना माग पुरा गर्नको लागि मुलुकमा हिंसा सिर्जना गर्नु उपयुक्त हुँदैन । यस्तो बेलामा हामी सत्तापक्ष र प्रतिपक्ष भनेर हामी विभाजित हुनुभन्दा पनि हामी राष्ट्रसामु देखिएको संकट समाधान गर्नको लागि एक ठाउँ उभिनुपर्ने हो । तर आज सरकार बेखबर भएको छ । सरकार कहाँ छ ? भनेर हामी खोजिरहेका छौँ । हामी प्रतिपक्षी दलहरुले मात्रै होइन सिंगो देशवासीले सरकार खोजिरहेका छन् । संसदमा पनि सम्बन्धीत मन्त्रालयको कोही पनि हुनुहुन्न । हिजो सर्वदलीय बैठकमा पनि सम्बन्धीत मन्त्री हुनुहुन्नथ्यो । यसरी त समस्या समाधान हुँदैन ।’
प्रतिपक्षी दलले मात्र नभई सिंगो देशवासीले सरकार खोजिरहेको प्रमुख सचेत राईको भनाइ छ ।