• श्रावण ११ २०८३, सोमबार

साउनको दोस्रो सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

श्रावण ११ २०८३, सोमबार

साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ । मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा आज आउनेजति सबैलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको हो ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आएपनि लामो लाम भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

साउनको सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नेले गोकर्णेश्वर र गोकर्णेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नै पर्ने भन्ने नियम पनि रहेको जनाइएको छ ।