काठमाडौं । विपद् तथा जलवायु परिवर्तनका कारण सिर्जित आर्थिक तथा गैरआर्थिक हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित, सन्तुलित र संवेदनशील ढङ्गले सञ्चारमाध्यममार्फत समाचार सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

विपद् पत्रकारिता सञ्जाल (डीजेएन) तथा प्राक्टिकल एक्सन नेपाल र आइआइइडीको सहकार्यमा आयोजित ‘नेपालमा विपद्ले निम्त्याएको आर्थिक तथा गैरआर्थिक हानि तथा क्षतिबारे पत्रकार अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताहरूले विपद्सम्बन्धी समाचारले केवल घटनाको विवरण मात्र नभई त्यसले समुदायमा पारेको दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय प्रभावलाई पनि समेट्नुपर्ने बताएका हुन्।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तन र विपद्का कारण समुदायले भोगिरहेका आर्थिक तथा गैरआर्थिक क्षति, त्यसको दीर्घकालीन असर तथा पुनःस्थापनाका चुनौतीबारे पत्रकारिता अझ जिम्मेवार र अनुसन्धानमुखी हुनुपर्ने धारणा राखे। उनीहरूले विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्य, संवेदनशीलता र प्रभावित समुदायको आवाजलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले विपद् र जलवायु परिवर्तनको असर पूर्वाधार, कृषि, पशुपालन वा सम्पत्तिमा हुने आर्थिक क्षतिमा मात्र सीमित नरही संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र पहिचानमा समेत गम्भीर प्रभाव पर्ने बताए।

उनले विशेष गरी थारु तथा आदिवासी समुदाय जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता विषयमा गहिरो अनुसन्धानसहित पत्रकारितामार्फत सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए।

अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुसालले जलवायु परिवर्तनसम्बन्धी समाचारलाई घटना–केन्द्रित बनाउने प्रवृत्तिभन्दा माथि उठेर समुदायमा पर्ने दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय असरलाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने बताए।

उनले विपद् तथा जलवायु परिवर्तनका घटनामा वृद्धि भइरहेका कारण त्यसको प्रत्यक्ष असर जनजीवनमा परेको उल्लेख गर्दै पत्रकारहरूले खोजमूलक र संवेदनशील रिपोर्टिङमार्फत वास्तविक अवस्था सरकार तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

विपद् पत्रकारिता सञ्जाल (डीजेएन) की अध्यक्ष अमिका राजथलाले जलवायु सङ्कटको प्रभाव समुदायमा प्रत्यक्ष देखिन थालेको अवस्थामा पत्रकारको जिम्मेवारी अझ बढेको बताइन्। सञ्जालले लामो समयदेखि विपद् तथा जलवायु परिवर्तनका विषयमा निरन्तर कलम चलाउँदै जनतालाई सुसूचित गर्दै आएको उल्लेख गर्दै उनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिइन्।

उनले विगतका विपद्का अनुभवबाट सिक्दै जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रभावकारी सूचना प्रवाहमार्फत जनधनको क्षति कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताइन्।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा विपद् तथा जलवायु परिवर्तनका विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको सहभागिता रहेको थियो।PC: Roman Budha magar










