काठमाडौं । नेपाल मगर विद्यार्थी संघको आयोजनामा नेपाली लोकगीतको क्षेत्रमा लामो समयसम्म निरन्तर साधनामा रही नेपालको पहिलो सालैजो भाकाको लोकगीत रेकर्ड गराउन सफल भएकी स्रष्टा मीना गर्बुजालाई सम्मान गरिएको छ ।
साउन ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी स्रष्टा गर्बुजालाई दिवंगत लोककलाकार अरुण थापाको २७औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको अरुण स्मृति संगीत पुरस्कार—२०८३ द्धारा पुरस्कृत तथा सम्मान गरिएको हो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, नेपाल मगर विद्यार्थी संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले अरुण थापासित उनको जीवनको उत्तरार्धतिरको सहकार्यको स्मृति सुनाए ।
अध्यक्ष थापाले अरुण थापाका कालजयी सिर्जनाका कारणले उनलाई सबै नेपालीले सम्झिरहने बताए । थापाले अरुण थापाले जीवनमा आर्थिक अभाव र विभिन्न पारिवारिक अव्यवस्था झेल्नु परेकोले उनले आफ्नो जीवनसित मेल खाने गीतहरु रचना गरेको हुनसक्ने बताए ।
उनले नेपाली समाजलाई कालजयी रचना उपहार दिएर संसारबाट बिदा लिएका थापाको सम्झनामा स्थापना भएको स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने परम्पराले पछिसम्म पनि निरन्तरता पाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रवन्धक किरणबाबु पुनले सिर्जनामा मात्र प्राणी बाँच्न सक्ने भन्दै अरुण थापा र उनीजस्ता कयौं सर्जकहरु र तिनका कृतिहरु जोगाइराख्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा मगर संस्कृतिविद बमकुमारी बुढामगरले दिवंगत अरुण थापाको आत्मालाई शान्ति दिनको लागि पनि नेपालको कला र संस्कृतिलाई बचाउने र थप विकास गर्नुपर्नेमा जोड दिइन् ।
सोही अवसरमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको तर्फबाट निम्ता गरिएका कलाकारहरु र लोकगायक तथा सालैजो शिरोमणि खड्क गर्बुजामगर लगायतले आफ्नो सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
सो समारोहमा मन्तव्य दिने क्रममा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष रक्षा रैकामगरले अरुण थापाको पुस्ताले मात्र होइन आजको पुस्ताले पनि नेपालको लोकसंगीतको रक्षाको लागि निरन्तर लागिरहनु पर्ने बताए ।
कार्यक्रमका अर्का वक्ता तथा सालैजो शिरोमणि खड्ग गर्बुजाले दिवंगत गायक अरुण थापासितको सहकार्यको अनुभति सुनाए । उनले श्रष्टा साधनाका कारणले सधै जिवित रहने भएकोले स्वर्गीय भन्न नहुने धारणा राखे ।
कार्यक्रमका अन्य वक्ताहरुले पनि कलाकारहरु गीतसंगीतको विकासको लागि निरन्तर खट्नु पर्नेमा जोड दिएका थिए ।
कर्यक्रममा उपस्थित सबैलाई नेपाल मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र रानामगरले स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सोही संगठनका महासचिव यामबहादुर रोकामगरले गरेका थिए ।
कार्यक्रमको समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुनमगरले पहिलो सालैजो गीत रेकर्ड गर्ने श्रष्टा तथा गायिकका मीना गर्बुजा मगरलाई सम्मान तथा पुरस्कृत गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो संगठनले आफ्नो क्षमताले भ्याएसम्म पुरस्कृत र सम्मान गरेको र यो कार्यलाई निरन्तरता दिने बताए ।
यसरी सम्मानित हुने श्रष्टामध्ये मीना गर्बुजा २२औं श्रष्टा हुन् । एक लाख ५० हजार राशीसहित गर्बुजालाई सम्मान गरिएकाे छ ।
तस्वीर : राेमन बुढामगर ।



