• असार २८ २०८३, आईतवार

एक्लियाे अमेरिका : इरानसितकाे युद्धमा आफ्नो संलग्नता नरहेको खाडी मुलुकहरूकाे स्पष्टीकरण

असार २८ २०८३, आईतवार

काठमाडौं । अमेरिका र इरानबीच फेरि आक्रमण तीब्र भएपछि खाडी मुलुकहरूले इरानविरुद्धको अमेरिकी युद्धमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् ।

आक्रमण तीब्र भएसँगै खाडी क्षेत्रका विभिन्न देशहरूमा संकटकालीन सतर्कता (इमर्जेन्सी अलर्ट) का साइरनहरू बजेका छन्।

कतारमा, विशेष गरी पछिल्लो एक घण्टामा, नागरिकहरूलाई घरभित्रै रहन, झ्याल र खुला ठाउँहरूबाट टाढा बस्न आग्रह गर्दै अर्को सतर्कता जारी गरिएको छ। कतारकाे आकाशमा धुवाँको मुस्लो र इन्टरसेप्टर मिसाइल (आक्रमण रोक्ने क्षेप्यास्त्र) जस्तो देखिने वस्तु उडिरहेको प्रष्ट देखिएका छन् । जसको लगत्तै यहाँ एउटा ठुलो विस्फोटको आवाज सुनियो।

तर, वर्तमान अवस्थामा कस्तो खालको निसाना बनाइएको थियो भन्नेबारे कुनै स्पष्ट आधिकारिक पुष्टि हुन सकेको छैन। साथै, उक्त आक्रमण क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल वा ड्रोन के मार्फत गरिएको थियो भन्ने कुरा पनि अझै खुल्न सकेको छैन ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि आफूहरूले कयौँ ड्रोन र मिसाइलहरूको सामना गरिरहेको जनाएको छ। बहराइनबाट पनि यस्तै प्रकारका रिपोर्टहरू प्राप्त भइरहेका छन् र त्यहाँका अधिकारीहरूले मिसाइल विफल पार्ने (इन्टरसेप्टिङ) प्रक्रिया जारी रहँदा नागरिकहरूलाई घरभित्रै बस्न निर्देशन दिइरहेका छन्।

यसअघि तनाव चर्किएका बेला पनि यस्तै प्रकारको प्रवृत्ति देखिने गरेको थियो। इरानले खाडी सहयोग परिषद् (जीसीसी) का देशहरूमाथि अमेरिकी सैन्य बेस (अड्डा) हरूलाई ठाउँ दिएको र उनीहरूको हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएर यहाँका अमेरिकी सैन्य कारबाहीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको आरोप पटक-पटक लगाउँदै आएको छ।

तर, यी खाडी मुलुकहरूले भने आफूहरू यस युद्ध वा कुनै पनि प्रकारको द्वन्द्वको पक्षधर नरहेको स्पष्ट पारेका छन्। उनीहरूले यी अमेरिकी सैन्य अखडाहरू अमेरिकासँग भएका द्विपक्षीय सम्झौताका हिस्सा मात्र भएको र यसको उद्देश्य केवल आफ्नो रक्षात्मक गतिविधिलाई सुरक्षित गर्नु रहेको स्पष्टीकरण दिँदै आएका छन्।