काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कतिपय नागरिक राज्यकैसामु किन आफूलाई असहाय महसुस गर्छन् भनि प्रश्न गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।
उनले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्नेमा नागरिकले असहाय महसुस गरेका बताए ।
उनले भनेका छन्, “हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?”
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण रहेको सभापति थापाको भनाइ छ ।
“यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन,,” उनले भनेका छन्, “यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो ।”
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउन उनले आग्रह गरेका छन् ।