• असार २५ २०८३, बिहीबार

इराक पुर्याइएकाे खामेनीकाे पार्थिव शरीरमा हजाराैं इराकीले दिए श्रद्धाञ्जली

असार २५ २०८३, बिहीबार

इराक, असार २५ गते । इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम अन्तर्गत इराकका पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल सहभागी भएका छन् । अत्यधिक भीडका कारण केही समय शव यात्रा अव्यवस्थित बनेपछि शव बोक्ने टोलीले कफिनलाई सुरक्षित राख्न भुइँमा झार्नु परेको थियो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो । उनी युद्धका क्रममा मारिएका वरिष्ठ इरानी नेतामध्ये एक हुन् । उनको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका-इरान वार्ताबिच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ ।

तेहरानले हर्मुज जलघाँटीमा तीन जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले बुधबार इरानमा आक्रमण गरेको थियो भने त्यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ ।

तेहरानमा शनिबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक लगिएकाे हो ।
विश्वभरका शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुगेपछि हजारौँ समर्थकले स्वागत गरेका थिए । इरानी राष्ट्रपति मसुद पेजेस्कियान, विदेशमन्त्री अब्बास अराघची तथा अन्य वरिष्ठ अधिकारीले शव यात्रामा सहभागिता जनाएका थिए । इस्लामिक गणतन्त्रको झण्डाले ढाकिएको काँचको कफिनमा राखिएको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकको ठूलो भीड जुटेको थियो ।

नजाफस्थित इमाम अलीको पवित्र मन्दिरमा वरिष्ठ धर्मगुरु मुहम्मद ताकी अल-हाकिमले अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे । कफिन मन्दिरतर्फ लैजाँदा श्रद्धाञ्जली अर्पण गर्न आतुर भीडले धक्का दिएपछि अवस्था केहीबेर नियन्त्रण बाहिर गएको थियो । कफिन ढल्न सक्ने अवस्था आएपछि शव बोक्ने टोलीले त्यसलाई तल झारेर सुरक्षित रूपमा अगाडि बढाएको थियो ।

अन्त्येष्टिमा सहभागी जाफर जवादले खामेनीको पार्थिव शरीर नजाफ ल्याइनु इराकका लागि ठूलो सम्मान भएको बताउँदै उनीप्रति आफ्नो निष्ठा कायम रहने प्रतिक्रिया दिए ।

त्यसपछि पार्थिव शरीर करबला लगिएको थियो । इमाम हुसेनको समाधिस्थल रहेको कर्बलामा पनि हजारौँ समर्थक उपस्थित भएका थिए । इराकका प्रमुख शिया धर्मगुरुका प्रतिनिधि अब्दुल महदी अल-कारबालेईले त्यहाँ अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे ।

यहाँ पनि श्रद्धाञ्जली दिन भीड अत्यधिक भएपछि कफिन पटक-पटक हल्लिएको थियो । आयोजकले स्थिति नियन्त्रणमा लिन कफिनलाई भुइँमा राखेर श्रद्धाञ्जलीको व्यवस्था मिलाएका थिए । यसैबिच, इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजताबा खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुभएको छैन । आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उनी सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ ।