बुटवल। थकाली महिला परिवार बुटवल र श्री गुम्बा समितिको आयोजनामा तथा श्री नारी साहित्य सृजना मञ्च बुटवलको सौजन्यमा सञ्चालित तीनदिने आधारभूत भाषणकला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। थकाली महिलाको आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिका लागि भाषणकला तालिम गरिएको हो ।

तालिममा करिब ४० जना थकाली महिलाको सहभागिता रहेको थियो। प्रशिक्षकद्वय प्रतिमा गौतम र रिजन बज्राचार्यले प्रभावकारी भाषणकला, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिएका थिए भने द आर्ट अफ लिभिङ बुटवलकी प्रशिक्षक भारती जोशीले योग, ध्यान तथा साधनासम्बन्धी अभ्यास गराएकी थिइन्।

समापन समारोहका प्रमुख अतिथि भूपी शेरचन पुस्तकालय, बुटवलका अध्यक्ष शिवप्रसाद शेरचनले यस्ता तालिमले महिलामा नेतृत्व क्षमता, आत्मविश्वास र प्रभावकारी अभिव्यक्ति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यक्रमको प्रशंसा गरे।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति थकाली समाजका अध्यक्ष तारा गौचनले पनि कार्यक्रममा बोल्दै थकाली महिलाहरु पनि राज्यको हरेक क्षेत्रमा पुग्नकोलागि यसरी नै आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिका लागि भाषणकला तालिममा सक्रिय भई अघि बढ्नु पर्ने बताईन् ।
कार्यक्रममा थकाली महिला संघका केन्द्रीय सल्लाहकार तथा श्री नारी साहित्य सृजना मञ्च बुटवलका अध्यक्ष शान्ति शेरचनले काठमाडौंमा सम्पन्न सातदिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिमबाट प्राप्त ज्ञान र अनुभव बुटवलका दिदीबहिनीहरूसँग बाँड्न पाएकोमा खुशी व्यक्त गरिन्। उनले “ज्ञान बाँड्दा बढ्छ” भन्ने भनाइलाई व्यवहारमा उतार्ने अवसर मिलेको उल्लेख गर्दै महिलाले नेतृत्व, आत्मविश्वास र प्रभावकारी अभिव्यक्ति विकासमा निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिइन्।

उनले अत्यधिक गर्मीका बाबजुद पनि सहभागीहरूको उत्साह, सक्रियता र सिक्ने चाहनाले तालिमलाई सफल बनाएको बताउँदै आयोजक, प्रशिक्षक, सहयोगी तथा सहभागी सबैप्रति आभार व्यक्त गरिन्। साथै, यस्ता तालिम देशका विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै महिलाले घर, समुदाय र राज्यका विभिन्न तहमा आफ्ना विचार स्पष्ट, तर्कसंगत र आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्ने क्षमता विकासका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताइन्।

कार्यक्रमको उद्घाटन अरुणकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा थकाली महिला परिवारकी अध्यक्ष भक्ति गौचनले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्। स्वागत मन्तव्य सृष्टि गौचनले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन प्रमिला गौचनले गरेकी थिइन्। समापन गुम्बा समितिकी अध्यक्ष दिलकुमारी तुलाचनले गर्दै महिलाबीच आपसी सिकाइ, सहकार्य र सशक्तीकरणलाई थप मजबुत बनाउन आग्रह गरिन्। PC ShantiSherchan





