• असार २५ २०८३, बिहीबार

कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा सम्मानित हुने

असार २५ २०८३, बिहीबार

पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार मीना थापा मगर सम्मानित हुने भएकी छन्।

कौराहा संरक्षण, प्रवर्द्धन तथा आदिबासी समुदाय तथा मगर समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा पत्रकारितामार्फत लामो समयदेखि योगदान पुर्‍याएको मूल्यांकन गर्दै उनलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पत्रकार थापा मगरलाई पुरस्कारका लागि छनोट गरेको हो। समितिमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आलेमगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा सचिव बलबहादुर रोकामगर सदस्य रहेका थिए।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ। छनोट समितिका संयोजक श्रीसका अनुसार पत्रकार थापा मगरलाई नगद रु. १५ हजार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिनेछ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा असार २६ गते शुक्रबार पोखराको अमरसिंहचोकस्थित पोखरा सेकुवा घरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिने जनाइएको छ।

यसअघि यो पुरस्कारबाट कमला राना मगर, तिलक पुन मगर, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीसमगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन्।