जनकपुर । मधेशमा अवस्थित मिटर ब्याज पीडितहरुले न्याय पाउँ भन्दै पैदल मार्च गर्ने तयारी गरेका छन् । किसान—मजदुर आन्दोलन नेपालको अगुवाइमा जनकपुरदेखि काठमाडौंसम्म न्याय मार्चको घोषणा गरिएको छ । सो पैदल मार्च यही असार २५ गतेदेखि जनकपुरको तिरहुतिया गाछीबाट सुरु हुनेछ ।
बालेन साह नेतृत्वको सरकारको १ सय दिनको काम कारवाहीलाई हेर्दा मिटर ब्याज पीडितको पक्षमा खासै काम गर्ने छाँट नदेखिएपछि दबाब स्वरुप न्यायको लागि पैदल मार्च गर्न लागिएको सो संगठनले जनाएको छ । मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौंसम्म गरिने उक्त पैदल मार्चमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ ।
शान्तिपूर्णरुपमा गरिने सो पैदल मार्चबाट सरकारले मिटर ब्याज पीडितको आवाज नसुनेमा थप संर्घका कार्यक्रम गर्न बाध्य हुने सो संगठनका प्रवक्ता रिजन रानामगर ‘आदित्य’द्धारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।