• असार १९ २०८३, शुक्रबार

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना

असार १९ २०८३, शुक्रबार

काठमाडौँ । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै असार १६ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको शान्तिपूर्ण धर्ना बिहीबार पनि जारी राखेका छन्।

सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा धर्ना सुरु गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले वर्षौंदेखि नागरिकता र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएको बताएका छन्।

प्रदर्शनकारीले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले आफ्ना माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।