सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको एक फोर्स गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतारामा दुर्घटना भएको हो ।
दुर्घटनापछि हालसम्म एकजनाको शव फेला परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एवं एसपी मुकुन्दप्रसाद रिजालले बताए ।
शवको पहिचान भइसकेको छैन । अरू यात्रुको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजीकार्य सुरु गरिसकेको छ । कर्णाली नदीमा खसेको गाडीभित्र अरू यात्रु रहेका हुन सक्ने आशंका आधारमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।