काठमाडौं । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ। बसमा चालकसहित ४६ जना सवार रहेकामा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।