• असार १३ २०८३, शनिबार

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

असार १३ २०८३, शनिबार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ रकम अपचलन गरी व्यक्तिगत लाभ लिएको आरोप शेर्पामाथि लागेको छ। विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रपञ्च र अनुचित प्रभाव प्रयोग गरेर संस्थालाई ठुलो आर्थिक हानि पुर्‍याएको भन्दै प्रहरीले उनीमाथि सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई अनुचित हानि पुर्‍याउने नियतले डर, त्रास देखाएर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वमा रहेको निजी कम्पनीको नाममा नामसारी गरेको खुलेको छ।

यसका साथै विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकम सञ्चालक समितिको आँखा छलेर आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र गाडी किन्न प्रयोग गरेको तथा विद्यालयको हक नै समाप्त पारेको गम्भीर आरोप पनि उनीमाथि छ।

विद्यालयको रकम हिनामिना गरी व्यक्तिगत फाइदा उठाएर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै पीडित पक्षले यसअघि नै सीआईबीमा उजुरी दिएका थिए।

नेपाली कांग्रेसमा आबद्ध रहेका शेर्पाविरुद्ध दुई वर्षअघि नै जाहेरी परेको भए तापनि सुरुवाती समयमा प्रहरीले राजनीतिक दबाबका कारण उजुरी दर्ता गर्न मानेको थिएन। तर, पीडित पक्ष न्यायका लागि अदालत पुगेपछि सम्मानित अदालतले जाहेरी दर्ता गरी कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाउन स्पष्ट आदेश दिएको थियो।

अदालतको सोही आदेशसँगै सीआईबीले उनीमाथिको अनुसन्धानलाई तीव्रता दिँदै अन्ततः पक्राउ गरेको हो। कानुनी राज्यको उपहास हुन नदिने भन्दै ब्युरोले यस प्रकरणमा जोडिएका अन्य पक्ष र वित्तीय कारोबारको विस्तृत विवरणमाथि थप छानबिन गरिरहेको छ।