काठमाडाैं। आज निर्जला एकादशी । आज देशभरी श्रद्धा, भक्ति र हर्षोल्लासका साथ घरघरमा तुलसी रोप्ने गरिन्छ। वैदिक पञ्चाङ्ग अनुसार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ।
हिन्दू धर्मशास्त्रहरूमा वर्षभरि पर्ने २४ वटा एकादशीहरूमध्ये यस एकादशीलाई सबैभन्दा बढी पुण्यदायी, फलदायी र महत्वपूर्ण व्रतका रूपमा व्याख्या गरिएको छ। आजको विशेष दिनमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूले गङ्गा, बागमती, विष्णुमतीसहित देशका विभिन्न पवित्र नदी, ताल र कुण्डहरूमा स्नान गरी भगवान् श्रीहरि विष्णुको विशेष पूजा-आराधना गरिरहेका छन्।
धार्मिक विधान अनुसार आजको व्रतमा अन्न मात्र नभई पानीसमेत ग्रहण नगरी (निर्जल) पूर्ण उपवास बस्ने परम्परा छ। भगवान् विष्णुप्रति समर्पित यो पावन व्रत केवल धार्मिक आस्था र पौराणिक मान्यतामा मात्र सीमित नभई मानव जीवनमा आत्मसंयम, मानसिक अनुशासन, स्वास्थ्य रक्षा र आध्यात्मिक जीवनशैलीसँग समेत गहिरो रूपमा जोडिएको मानिन्छ।
आजको दिन निराहार व्रत बसी जल वा सर्वतले भरिएको घडा (तामा वा माटोको भाँडो) गरिब तथा ब्राह्मणलाई दान गर्नाले दान गर्ने व्यक्ति र उसको परिवारमा भगवान् विष्णुको असीम कृपा रहने कुरा विभिन्न धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।
यस एकादशीको अर्को ठूलो सांस्कृतिक महत्त्व भनेको घर-घरमा तुलसीको बिउ वा दल राख्नु हो। आजको दिन पवित्र स्थानमा विधिपूर्वक पूजाआजा गरी राखिएको तुलसीको दललाई आगामी आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन मठ बनाएर रोप्ने गरिन्छ।
यसरी रोपिएको तुलसीको बिरुवालाई चार महिनासम्म विशेष केयर र पूजाआजा गरी कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी (ठूलो एकादशी) का दिन भगवान् विष्णुको प्रतीक दामोदरसँग विवाह गरिदिने धार्मिक एवं सांस्कृतिक प्रचलन रहिआएको छ। आज काठमाडौँको बूढानीलकण्ठ, चाङ्गुनारायण लगायत मुलुकभरका प्रमुख विष्णु मन्दिरहरूमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ।