• जेष्ठ २७ २०८३, बुधबार

मत गणनामा फर्जी मत भेटिएपछि रास्वपा दैलेखको कार्यालयमा तालाबन्दी

जेष्ठ २७ २०८३, बुधबार

काठमाडाैं । रास्वपा जिल्ला कार्य समिति दैलेखको कार्यालयमा तालाबन्दी भएको छ । आइतबार सम्पन्न रास्वपाको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्वत नेतृत्व चयन नभएपछि मतदान भएको थियो ।

उक्त निर्वाचनमा खसेको कुल मतमा ६ मत बढी भेटिएको भन्दै सभापतिको दौडमा रहेका प्रकाश बुढाले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

बुढाले पार्टी कार्यालयमा ताला लगाएसँगै रास्वपाको नवनिर्वाचित जिल्ला कार्यसमिति विवादमा तानिएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा निर्वाचन समितिले दुई सय ४० मत खसेको घोषणा गरेको थियो । तर, सभापतिका आकांक्षी बुढासहितका चारजनाले प्राप्त गरेको कुल मतभार जोड्दा दुई सय ४६ पुगेपछि विवाद सिर्जना भएको जनाइएको छ ।

निर्वाचनबाट बखतबहादुर भण्डारी सभापति चयन भएका थिए । भण्डारीले ९३ मत ल्याएर विजयी हुँदा प्रकाश बुढाले ६९, बीनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल ४१ मत प्राप्त गरेका थिए । यो मत जोड्दा दुई सय ४६ हुन्छ ।

तर, अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले दुई सय ४० मत खसेको घोषणा गरेको जनाइएको छ ।

सभापतिमा हार व्यहोरेका बुढाले निर्वाचन समितिले मतदानसम्बन्धी कागजपत्र लिई मिलाउन खोजेको चाल पाएपछि प्रमाण नष्ट नहोस् भन्ने हेतुले तालाबन्दी गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

जिल्ला समितिले आवश्यक छानबिन गर्ने प्रतिबद्धता गरे तालाबन्दी खोलिने भन्दै बुढाले पारदर्शिता र सुशासनका विषय भाषणमा नभई व्यवहारमा उतार्न आग्रह गरेका छन् । निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कामको छानबिन हुनुपर्ने माग उनको छ ।

यता निर्वाचन समितिले सबै कागजात पार्टी कार्यालयमा बुझाएको भन्दै निष्पक्षतामा कुनै शंका नरहेको दाबी गरेको छ ।