• असार १ २०८३, सोमबार

लुम्बिनी सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा, काेकाे बन्दैछन् नयाँ मन्त्रीहरू ?

जेष्ठ २० २०८३, बुधबार

दाङ । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् ।
यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागेको बुझिएको छ । नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए ।

यसैबीच एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री सिफारिस भएका हुन् ।

खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्। एमालेले दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको एमालेका एक प्रदेश सभा सदस्यले बताए ।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया केही समय रोकिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। हाल एमालेबाट सरकारमा सहभागी भएका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ।