• जेष्ठ १९ २०८३, मंगलवार

राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा

जेष्ठ १९ २०८३, मंगलवार

काठमाडौँ ।  नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ ।

विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको दाबी गरिएको छ ।

प्रतिवेदन विपरित अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय नै छ ।

दरबार हत्याकाण्ड पछि बनेका हरेक सरकारले घटनाको सत्यतथ्य छानबिन गर्ने उद्घोष गरे पनि घटनाको दुई दशक बितिसक्दा कुनै अनुसन्धान हुन सकेको छैन ।

गणतन्त्र घोषणापछि बनेका हरेक प्रधानमन्त्रीले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउने बताउ पनि केही सार्वजनिक हुुन सकेको छैन ।

नारायणहिटी राजदरबार अहिले संग्रहालयको रुपमा सार्वसाधारणको लागि खुल्ला छ ।

नेपालमा २४० वर्ष शासन गरेको राजतन्त्र हट्दै गणतन्त्र स्थापना भएपछि राजदरबार संग्रहालय बनेको हो । नारायणहिजी राजदरबार मात्र नभएर नरसंहार भएको स्थान समेत हो । त्यसकारण पनि आम मानिसलाई उक्त स्थानबारे चासो लाग्नु स्वभाविक हो ।

दरबार हत्याकाण्ड भएको १४ वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्र शाहले भत्काउन लगाएका थिए । उक्त त्रिभुवन सदनको बिलियार्ड हलभित्र तत्कालिन राजाको परिवारका सदस्यहरुको हत्या भएको थियो । उक्त विलियार्ड हलको जगबाट गाह्रो उठाएर पुन बनाइएको छ ।

हत्याकाण्डपछि रानी ऐश्वर्याको जुत्ता त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा भेटिएको थियो भने शव दीपेन्द्र निवासको भर्या‍ङमा फेला परेको थियो ।

बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ । यस श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिएको छ ।

नारायणहिटी संग्रहालय घुम्न दैनिक सयौंको संख्यामा आन्तरिक र वाह्य पर्यटक नारायणहिटी पुग्ने गरेका छन् ।

०६५ सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म करिब लाखौँ आन्तरिक र विदेशी पर्यटकले अवलोकन गरेका छन् । दरबार संग्रहालय जाने अधिकांशले जेठ १९ गतेको घटना स्मरण गर्ने गरेका छन् र हत्याकाण्ड कसले घटायो वा कसले गोली चलायो भन्दै आफैमा प्रश्न गर्ने गरेका छन् ।

संग्रहलय २०६५ साल माघ १६ गते सर्वसाधारणका लागि खुला भएको हो।

पछिल्लो समय नारायणहिटी संग्रहालय पर्यटन स्थल बन्दै गएको पाइन्छ । कतिपय नेपाल घुम्न आएका विदेशी पर्यटक लागि नारायणहिटी संग्रहालयले अध्ययन केन्द्र पनि बन्दै गएको छ । ठमेल र दरबारमार्गमा घुम्न जाने पर्यटन नारायणहिटी संग्रहालय छिर्ने गरेका छन् ।

सङग्रहालय भित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका २१ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।