काठमाडौं । कांग्रेस सांसद निस्कल राईले सरकारले हालसम्मकै बढी वैदेशिक ऋण उठाउनेगरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।
शुक्रबार बजेट वक्तव्यपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले सार्वजनिक ऋण पनि ३० खर्ब नजिक पुगेको बताएका हुन् ।
‘प्रस्तावित बजेटको आकार राष्ट्रिय योजना आयोगले १८ खर्ब, ९७ अर्बको आकार दिएकामा प्रस्तावित बजेटमा २१ खर्ब २४ अर्बको आयो । यो दिएको सीमाभन्दा १२ प्रतिशतले बढी छ,’ उनले भने, ‘यसको स्रोतलाई हेर्ने हो भने राजस्वमा १४ खर्ब ७ अर्ब, वैदेशिक ऋणमा २ खर्ब ४७ अर्ब छ । यो हालसम्मको सबैभन्दा धेरै वैदेशिक ऋण हो ।’
त्यसमा आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहेको बताउँदै उनले अहिलेसम्मको मुलुकको आन्तरिक र बाह्य ऋण २९ खर्ब ३३ अर्ब पुग्ने उनले बताए ।
‘अहिले ६ खर्ब ५७ अर्ब ऋण थपिँदा अहिले भन्दा २२.४१ प्रतिशतले ऋण बढ्छ,’ उनले भने । यसले प्रत्येक नेपालीका टाउकामा एक लाख २० हजार बढी ऋणको भार पुग्ने उनले बताए ।