काठमाडाैं । एमालेका चार उपाध्यक्षहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा धारणा राखेका पाँच उपाध्यक्षमध्ये चार जनाले पार्टी जोगाउन ओलीले राजीनामा दिनुपर्ने बताएका हुन्।
यद्यपि उनीहरूले राजीनामा नै भन्ने शब्द प्रयोग गरेका थिएनन्। उनीहरूले पुनर्गठन, रुपान्तरण र पुस्तान्तरण गरेर जानुपर्ने धारणा राखेका थिए ।
‘पार्टीको रुपान्तरण र पुस्तान्तरणको पक्षमा चार जना उपाध्यक्षले बोल्नुभयो, एक जना अध्यक्षको पक्षमा उभिनुभयो,’ एक पदाधिकारीले भने, ‘भोलि शनिबार बाँकीले बोल्नुहुन्छ।’
पार्टी र आन्दोलन जोगाउन आफूहरू पार्टी पुनर्गठनको पक्षमा उभिएको एक उपाध्यक्षले बताए । ‘पुस्तान्तरण र रुपान्तरणको पक्षमा चार जना उपाध्यक्षले बोल्नुभयो, पार्टी जोगाउन पर्यो नि,’ ती उपाध्यक्षले भने।