• बैशाख २९ २०८३, मंगलवार

लोकदोहोरीमा अस्लिलता देखाउनेलाई साइबर ब्यूरोको सहयोगमा प्रतिष्ठानले कारवाही गर्दै

बैशाख २९ २०८३, मंगलवार

काठमाडौँ । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कडा रूपमा उत्रिने भएको छ।

गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति र मोडल रिया खड्काले धार्मिक स्थलमा गरेको नृत्यलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठानले कानुनी कारबाहीको तयारी गरेको हो।

गीत–संगीतमा विकृति भित्र्याउनेहरूलाई कुनै हालतमा नछोडिने लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले बताइन्। यसपटक प्रतिष्ठान केवल आन्तरिक चेतावनीमा मात्र सीमित नभई कानुनी उपचारमा जाने तयारीमा रहेको छ।
अध्यक्ष थापामगरका अनुसार यस विषयमा संस्कृति मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने र साइबर अपराध अन्तर्गत कारबाहीका लागि साइबर ब्युरोसँग समन्वय गर्ने कार्य भइरहेको छ। प्रतिष्ठानले सम्बन्धित कलाकारहरूलाई लिखित रूपमै क्षमा माग्न र यसबारे जानकारी दिन समेत आग्रह गरेको छ।

अध्यक्ष थापाले यो विकृतिमा गायक–गायिकाको मात्र नभई स्टुडियो सञ्चालक, वाद्यवादन बजाउने कलाकार र त्यस्तो प्रस्तुतिमा हाँसेर साथ दिने दर्शकहरूको पनि उत्तिकै गल्ती रहेको उल्लेख गरेकी छन्। ‘के लोक संगीत यस्तै हुनुपर्ने हो ?’ भन्दै उनले प्रश्न गरेकी छन्।
प्रतिष्ठानले सम्बन्धित सबै पक्षलाई छलफलका लागि कार्यालयमा बोलाएको छ। सस्तो लोकप्रियता र आर्थिक लाभका लागि लोक संस्कृतिको धज्जी उडाउनेहरूलाई प्रतिष्ठानको सदस्यताबारे पुनर्विचार गर्ने वा निलम्बन गर्नेसम्मको कडा कदम चालिने संकेत उनले दिएकी छन्।

गायक प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको लाइभ दोहोरीमा प्रयोग गरिएका शब्द र हाउभाउले नेपाली सभ्यतालाई गम्भीर चोट पुर्‍याएको ठहर गरिएको छ। त्यस्तै, गुल्मीको महोत्सवमा गायिका ज्योति मगरले देखाएको ‘मर्यादा विपरीत’ को गतिविधि र मोडल रिया खड्काले धार्मिक क्षेत्रमा गरेको नृत्यले सांस्कृतिक आस्थामा खलल पुर्‍याएको भन्दै लोक सञ्चारकर्मी नेपालले समेत सोमबार विज्ञप्ति जारी गरी आपत्ति जनाएको थियो।

लोक संस्कृति जोगाउने जिम्मेवारी सबैको भएको महसुस गर्दै प्रतिष्ठानले अब यस्ता गतिविधि रोक्न राज्यका निकायहरूसँग मिलेर काम गर्ने योजना बनाएको छ।