• बैशाख २६ २०८३, शनिबार

महँगाे फाइभ स्टार हाेटेलमा पार्टी प्रशिक्षण कार्यक्रम गरेपछि आशिका रिसले आगाे

बैशाख २६ २०८३, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरू महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको विषयमा गम्भीर प्रश्न उठाएकी हुन्।

सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू हुँदाहुँदै बाहिर महँगा होटल वा अरूसँग हल सापटी लिएर कार्यक्रम गर्नुपर्ने कुनै बाध्यता नरहेको उनको तर्क छ।

सांसद तामाङले सिंहदरबारभित्रै धेरै सङ्ख्यामा सभाहलहरू उपलब्ध रहेको अवस्थामा बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको लेखाजोखा कसले गर्ने भन्दै प्रश्न गरेकी छन्।

उनले भनिन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभा हल कति छन् कति, बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने ?’

यदि सुरक्षाको कारण देखाएर महँगा होटल रोजिएको हो भने सांसदहरूलाई के एक दिन मात्र सुरक्षा चाहिने हो र अन्य दिन चाहिँदैन भन्ने उनको व्यङ्ग्यात्मक प्रश्न छ।

परिवर्तनको एजेन्डा लिएर आएका नयाँ शक्तिहरू नै पुरानाकै पदचापमा हिँड्न नहुनेमा उनले जोड दिएकी छन्। आफूहरू आफै परिवर्तनको पक्षमा उभिएको र फजुल खर्च नगर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले व्यवहारमा पुरानै प्रवृत्ति दोहोरिनु दुःखद भएको बताएकी छन्।

उनले अगाडि थपेकी छन्, ‘हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’