काठमाडौं । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । मे ३ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
नेपालमा प्रेस स्वतन्त्रता “छ” तर “पूर्ण रूपमा सुरक्षित र निष्पक्ष” छैन। संविधान र अन्य कानुनमा व्यवस्था राम्रो भए पनि व्यवहारमा राजनीतिक, आर्थिक र सामाजिक दबाबले त्यसलाई कमजोर बनाएको छ। वास्तविक स्वतन्त्रता तब मात्र सम्भव हुन्छ जब पत्रकार सुरक्षित हुन्छन्, मिडिया आर्थिक रूपमा स्वतन्त्र हुन्छ, र राज्यले आलोचनालाई स्वीकार्ने संस्कार विकास गर्छ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पत्ररकाहरुको संगठन संस्था नेपाल पत्रकार महासंघ,प्रेस काउन्सिलले अन्तर्क्रिया, प्रदर्शन लगायतका कार्यक्रम आयोजना गरेको छ ।