• बैशाख १२ २०८३, शनिबार

थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु, बिहानैदेखि सुरक्षाकर्मी परिचालन

बैशाख १२ २०८३, शनिबार

काठमाडौं ।  थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ ।

बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।

सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो।

घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेको दृश्य घटनास्थलमा देखिएको छ।