काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला आज (शनिबार)देखि सुरु हुँदैछ।
घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ।
दुवै टोलीले यसअघि दुई खेलको टी-२० आई सिरिज खेलेका थिए। जसमा सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।
नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन्। दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ।
नेपालको उच्च स्कोर २६९ रहँदा यूएईले भने नेपालविरुद्ध ३१० रन बनाएको थियो। कम स्कोरको कुरा गर्दा नेपालले यूएईलाई २०२३ मार्च १२ मा ७१ रनमै अलआउट गराएको थियो भने यूएईविरुद्ध १०३ नेपालको कम स्कोर रहेको छ। उक्त खेल २१ मार्च २०२२ मा यूएईमा भएको थियो।
शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।
नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मंगलबार ओमानसँग खेल्नेछ।
टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् ।