• बैशाख १२ २०८३, शनिबार

मुख्यमन्त्रीहरूले बालेनसँग खाेले गुनासैगुनासाका पाेका

बैशाख ३ २०८३, बिहीबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।

बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्थालगायत विषयमा जानकारी लिएका छन् ।

स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसँग छलफल भएको उनले बताए ।

उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरवका आयोजनाहरूको निर्माण कार्यमा समस्या देखिएको लगायत विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको प्रस्ट पारे ।

उनले संविधानले नै प्रदेशलाई अधिकार तोके पनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएको उल्लेख गरे ।

विकास निर्माण, प्रशासनिक क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अवगत गराएको उनको भनाइ छ । बैठकमा कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने उपस्थित थिएनन् ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासका रूपमा मुख्यमन्त्रीसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।