चैत्र १७, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा निर्वाचनको समीक्षा, समसामयिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
नेकपाले कार्य संयोजन समितिको बैठक पहिलो पटक बोलाएको हो । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक मिलेर नेकपा गठन गरेको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षमा ८, समानुपातिकमा ९ सिट गरी जम्मा १७ सिट जितेको थियो ।
२०७० सालदेखि तेस्रो स्थानमा रहेको पार्टी यसपटक चौथो स्थानमा पुगेको छ । पार्टीले पराजय भोगेपछि फागुन २८ गते बसेको निर्वाचन परिचालन समितिको बैठकले १६५ निर्वाचन क्षेत्रकै रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो । यसै विषयमा छलफल केन्द्रित भइरहेको आचार्यले बताए ।
‘केन्द्रीय कार्य संयोजन समितिको बैठक बसिरहेको छ । चुनावी समीक्षा लगायत विषयमा छलफल केन्द्रित छ’, उनले भने ।
नेकपाको अन्तरिम विधान अनुसार ४५ जना रहने यो समितिमा संयोजक, सहसंयोजक लगायत आवश्यक सङ्ख्यामा सदस्यहरू रहने विधानमा व्यवस्था छ । केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूको चयन सहमतिका आधारमा गरिनेछ ।