काठमाडाैं । विगत तीन सातादेखि जारी अमेरिका, इजरायल र इरानबीचको भीषण युद्ध अन्त्यका लागि एउटा नयाँ कूटनीतिक पहल सुरु भएको छ। अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेअनुसार वासिङ्टनले तनाव कम गर्न इरानसमक्ष १५ बुँदे शान्ति प्रस्ताव पठाएको छ।
न्युयोर्क टाइम्स, रोयटर्स र इजरायलको ‘च्यानल १२’ ले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै यो गोप्य प्रस्तावको खुलासा गरेका हुन्। यद्यपि, बीबीसीले यस दस्तावेजको आधिकारिक पुष्टि नभइरहेको जनाएको छ।
पाकिस्तानमार्फत ‘शान्ति सन्देश’
यसपटकको कूटनीतिक प्रयासमा पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको देखिएको छ। रिपोर्टहरूका अनुसार, अमेरिकाले उक्त १५ बुँदे सम्झौताको खाका पाकिस्तानमार्फत इरानलाई हस्तान्तरण गरेको हो। पाकिस्तानले यसअघि नै द्वन्द्वरत पक्षहरूबीच वार्ताको वातावरण बनाउन र आतिथ्यता प्रदान गर्न इच्छुक रहेको बताएको थियो।
अमेरिकी प्रस्तावमा सबैभन्दा महत्त्वपूर्ण सर्त होर्मुज जलसन्धिको सुरक्षासँग जोडिएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार अमेरिकाले होर्मुज जलसन्धिलाई पूर्ण रूपमा खुला राख्दै यसलाई ‘मुक्त सामुद्रिक क्षेत्र’ घोषणा गर्नुपर्ने।
विश्वको तेल आपूर्तिका लागि यो मार्ग सामरिक रूपमा संवेदनशील भएकाले यसमा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता। थप सैन्य आक्रमण रोकेर कूटनीतिक निकास खोज्ने मागहरू अघि सारेको छ ।
प्रस्तावलाई आधिकारिक रूपमा सार्वजनिक नगरिएको भए पनि यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो तरंग पैदा गरेको छ। यसअघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘सकारात्मक छलफल’ भइरहेको दाबी गरेका थिए। तर इरानले कुनै वार्ता नभएको बताएको थियो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
अमेरिकाले इरानसँगको प्रत्यक्ष युद्धलाई थप फैलिन नदिन र सुरक्षित अवतरणका लागि यो ‘शान्ति प्याकेज’ ल्याएको विश्लेषण गरिएको छ। क्षेत्रीय शान्ति स्थापनामा पाकिस्तानको मध्यस्थताले दक्षिण एसियाली देशहरूको कूटनीतिक प्रभावलाई समेत दर्शाएको छ।