काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीसहित विभिन्न ७ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।
इजरायल-अमेरिका र इरानबीच जारी युद्धपछि १२ देशमा श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।
१७ फागुनमा बसेको मन्त्रीस्तरीय निर्णय गर्दैै श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगन गरेको थियो । तर, बिदामा नेपाल आएका तथा नेपाल आउन खोजेका कतिपय नेपाली समस्यामा परेको भन्दै मन्त्रालयले ३ चैतको निर्णय अनुसार साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयको यतिबेला चर्चा भइरहेको छ । वैदेशिक रोजगार क्षेत्रका कतिपयले गलत निर्णय भनेका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परेको समस्या अर्को तरिकाले समाधान गर्नुपर्ने बताउँदै पुन: श्रम स्वीकृति खुला गर्नु गलत भएको बताए ।
एनआरएनए सम्मेलनमा आएर फर्किन नपाएपछि उनीहरूलाई समस्या भएको बताउँदै त्यसका लागि उनीहरूलाई मात्रै लक्षित गरेर खोलिदिए हुने उनको भनाइ छ ।
युद्ध चलिरहेको तर नेपाल फर्किएका श्रमिकलाई पुन: जाने वातावरण बनाएपछि भोलिका दिन उद्धार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए ।
‘युद्ध रोकिएको छैन, एनआरएनहरूलाई समस्या भयो भनेर सबैका लागि खोल्नु हुँदैन,’ उनको प्रश्न छ, ‘युद्ध चलिरहेको बेला घर बिदामा आएका श्रमिकलाई पुन: श्रम स्वीकृति खुला गरेर उता पुग्ने वित्तिकै उद्धार गर्नुपर्ने अवस्था आयो भने के गर्ने ?’
अहिले पुन: श्रम स्वीकृति लिएर दैनिक २ सय हाराहारी श्रमिक गइरहेको भन्दै उनीहरूको उद्धार गर्नुपर्ने अवस्था आए अर्को समस्या हुने उनको भनाइ छ ।
तर, सरकारले भने धेरै जनाबाट समस्यामा परेको गुनासो आएपछि पुन: श्रम स्वीकृति खोलिएको बताएको छ ।
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखा प्रमुख सहसचिव रामकाजी खड्काले ती देशमा अवस्था संवेदनशीलभन्दा सामान्य रहेको बुझिएकाले खुला गरिएको बताए ।
इजरायल–इरान द्वन्द्वसँग प्रत्यक्ष जोडिएका र कुवेत, बहराइन, इराक उडानका लागि आकाश खुला नरहेकाले तीबाहेक देशमा पुन: श्रम स्वीकृति खुला गरिएको उनको भनाइ छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को तेस्रो बैठकले पुन: श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको थियो । सोही आधारमा श्रम मन्त्रालयले पुन: श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।
अवस्था संवेदनशीलभन्दा सामान्य रहेको बुझिएको, हवाई सेवा सीमित रूपमा सुरु हुँदै गएको, सम्बन्धित मुलुकका नेपाली संघसंस्थाले पुन: श्रम स्वीकृति खुला गरिदिन निवेदन तथा ज्ञापनपत्र पेस गरेको, विभिन्न व्यक्तिले पनि खुला गर्नेतर्फ पहल हुन निवेदन दिएको र सञ्चारमाध्यममा समेत गुनासो सार्वजनिक भएको भन्दै उक्त निर्णय गरिएको जनाएको छ ।