• चैत्र ५ २०८२, बिहीबार

लारिजानी मारिएकाे बदलामा इरानले इजरेलमा हान्याे क्लस्टर वारहेड मिसाइल

चैत्र ४ २०८२, बुधबार

तेहरान । इरानले इसराइलको राजधानी तेल अविभमा लक्षित गरी सयाैं मिसाइल प्रहार गरेको छ।

मंगलबार बेलुकी तेल अविभको घना आवादी रहेको ठाउँमा इरानले मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस हमलालाई इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदला भनेको छ। लारिजानी सोमबार इसराइलले गरेको मिसाइल आक्रमणमा मारिएका थिए।

लारिजानी युद्ध सुरू भएयता सर्वोच्च नेता आयातोल्ला अली खामेनीपछि मारिने सबै भन्दा उच्च अधिकारी हुन्। खामेनी मारिएपछि युद्धको रणनीतिमा उनले नै काम गरिरहेका थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

इरानले लारिजानीको हत्याको बदलामा तेल अविभमा क्लस्टर वारहेड सहितको मिसाइल हानेको छ।

क्लस्टर वारहेड आकाशमै फुटेर धेरै ठाउँमा फैलिने भएकाले यसलाई रोक्न इसराइलको ‘इन्टरसेप्टर’लाई पनि कठिन हुन्छ।

एउटा हतियार तेल अविभको रमत गानमा खस्दा वृद्ध दम्पत्तीको मृत्यु भएको रोयटर्सले जनाएको छ। त्यहाँ घरहरूमा पनि क्षति भएको छ। सडकमा केही सवारी साधनहरुमा क्षति भएको तस्बिरहरू र भिडियाेहरू पनि सार्वजनिक भएका छन् ।