• फाल्गुन २७ २०८२, बुधबार

झलनाथ पत्निलाई घरमै आगो लगाई घाइते बनाएको अभियोगमा खाती विरुद्ध मुद्दा दायर

फाल्गुन २७ २०८२, बुधबार

काठमाडौँ । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी गरेर उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाएको अभियोगमा एक युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

बझाङको जयपृथ्बी नगरपालिका ११ घर भएका ३६ वर्षिय दिलबहादुर खातीविरुद्ध साेमबार मुद्दा दायर भएको हो । प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरी जिल्ला अदालतमा उनीविरुद्ध आपराधिक उपद्रह र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको हो।

सरकारी वकिल कार्यालयले खाती विरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘अपराधिक उपद्रव’को कसूरमा १० करोड ३४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।

अभियोग पत्रका अनुसार गत २०८२ भदौ २४ गते जेनजी समूहले नेपाल सरकार विरुद्ध गरेको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरू पूर्व प्रधानमन्त्री खनालको घरमा प्रवेश गरेका थिए ।

सो समूहले खनालकी पत्नी एवं जाहेरवाला रवि लक्ष्मी चित्रकार र उनको परिवारलाई गालीगलौज गर्दै सुरक्षा दस्तालाई तितरबितर पारेका थिए ।
भिडले खनालको घरको ग्यारेजमा रहेको सरकारी गाडी (प्रदेश ०३–०१–००२ झ ५१८७) र घरभित्रका सरसामानमा प्रज्वलनशील पदार्थ प्रयोग गरी आगजनी गरेका थिए ।

सो समयमा घरभित्रै रहेकी ७० वर्षीया रविलक्ष्मी चित्रकारलाई ज्यान मार्ने नियतले घर बाहिर निस्कन नदिई आगो लगाइएको दाबी गरिएको छ।
अभियुक्त खाती भने फरार छन् । सामाजिक सञ्जालको भिडियोमार्फत प्रहरीले उनको पहिचान गरेको हो।