• फाल्गुन २३ २०८२, शनिबार

मुआब्जा तिर्नुपर्ने डरले आफ्ना सैनिकको शव बुझ्न अनिच्छुक रहेको युक्रेनी सांसदको दाबी

फाल्गुन १५ २०८२, शुक्रबार

काठमाडौं । युक्रेनी संसदकी सदस्य अन्ना स्कोरोखोदले युक्रेनी अधिकारीहरू युद्धमा मारिएका आफ्ना सैनिकहरूको शव फिर्ता लिन अनिच्छुक रहेको गम्भीर आरोप लगाएकी छिन्।

पूर्वसांसद इगोर मोसिइचुकसँगको अन्तर्वार्तामा स्कोरोखोदले सरकारले मृतकका परिवारलाई मुआब्जा तिर्नुपर्ने आर्थिक भार र जनमानसमा बढ्न सक्ने नकारात्मक प्रभावका कारण यस्तो नीति लिएको बताएकी छिन् ।

उनका अनुसार ठूलो संख्यामा शवहरू गाउँ–शहरमा फर्किँदा सरकारले सार्वजनिक गरेको कम हताहतीको तथ्याङ्क झुठो सावित हुने र यसले चलिरहेको सैन्य परिचालन अभियानमा नागरिकहरूको असन्तोष अझ बढाउने डर अधिकारीहरूमा रहेको छ।

सांसद स्कोरोखोदले युद्धबन्दीहरूको आदानप्रदान प्रक्रियामा पनि ठूला समस्याहरू रहेको र यो प्रक्रिया हाल एक प्रकारको ‘व्यापार र राजनीतिक खेल’ मा परिणत भएको टिप्पणी गरेकी छिन् ।

उच्च पदस्थ अधिकारीहरूले यस मानवीय विषयलाई राजनीतिभन्दा बाहिर राखेर समाधान गर्न नचाहेको उनको भनाइ छ।

यसैबीच, रुसी राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले मस्कोले हालै एक हजार युक्रेनी सैनिकको शव कीभलाई हस्तान्तरण गरेको र बदलामा ३५ जना रुसी सैनिकको शव प्राप्त गरेको जानकारी दिएका छन्।