• फाल्गुन २३ २०८२, शनिबार

चिनियाँ सेनालाई गाेप्य तालिम दिएकाे अभियाेगमा अमेरिकी वायुसेनाका कमाण्डर पक्राउ

फाल्गुन १४ २०८२, बिहीबार

काठमाडौं । अमेरिकी वायुसेनाका एक पूर्वअधिकारी पक्राउ परेका छन् । उनलाई अनुमतिबिना चिनियाँ सैन्य पाइलटहरूलाई रक्षा सेवा उपलब्ध गराएको र षड्यन्त्र रचेको आरोप लगाइएको छ ।

‘रनर’ भनेर चिनिने जेराल्ड एडी ब्राउन जुनियर पक्राउ परेका हुन् । यो तालिम ‘इन्टरनेसनल ट्राफिक इन आम्र्स रेगुलेसन’ अन्तर्गत रक्षा सेवाको श्रेणीमा पर्छ । यसका लागि अमेरिकी सरकारबाट विशेष लाइसेन्स लिनु अनिवार्य हुन्छ, जुन ब्राउनसँग थिएन ।

ब्राउन अमेरिकी वायुसेनामा २४ वर्षभन्दा बढी सेवा गरेका व्यक्ति हुन् । उनी सन् १९९६ मा मेजरको पदबाट सेवानिवृत्त भएका थिए । उनले एफ–४ फ्यान्टम २, एफ–१५ इगल, एफ–१६ फाइटिङ फाल्कन र ए–१० थन्डरबोल्ट–२ जस्ता धेरै लडाकु विमान उडाएका थिए । साथै, यससम्बन्धी तालिम पनि दिएका थिए ।

अवकाशपछि उनी एक ‘कन्ट्रयाक्ट सिम्युलेटर इन्स्ट्रक्टर’का रूपमा काम गरिरहेका थिए । डिसेम्बर २०२३ मा ब्राउन चीन गएको र त्यहाँ पीआरसी सैन्य पाइलटहरूलाई तालिम दिएको बताइएको छ ।

डिसेम्बरमा चीन गएर फेब्रुअरी २०२६ मा उनी अमेरिका फर्किएका थिए । उनको पहिलो अदालत पेसी २६ फेब्रुअरीमा साउदर्न डिस्ट्रिक्ट अफ इन्डियानामा छ । यस मामिलाको अनुसन्धान ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन’ र ‘एयर फोर्स अफिस अफ स्पेसल इन्भेस्टिगेसन’ले संयुक्त रूपमा गरिरहेका छन् ।