• फाल्गुन २३ २०८२, शनिबार

फेरि खुल्यो अर्को आइपिओ,कसले दिन सक्छन् आवेदन?

फाल्गुन १३ २०८२, बुधबार

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङ्गटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीले तोकिएको म्यादभित्र आवेदन दिन सरोकारवालालाई आग्रह गरेको छ।