पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने भएको छ ।
सोमबार (फागुन ४) भएको सुनुवाइमा कास्की जिल्ला अदालतले रविविरूद्धको उक्त मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको हो ।
यसअघि गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा छ ।
महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो ।
जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका हुन् ।
यसअघि रूपन्देही जिल्ला अदालतले पनि रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।