काठमाडौँ । भारतको राजस्थानको औद्योगिक क्षेत्रमा रहेको केमिकल तथा पटाका उत्पादन गर्ने कारखानामा आगलागी हुँदा सात मजदुरको मृत्यु भएको छ ।
आगलागीमा परेर गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रिफर गरिएको छ ।
घटनास्थलमा पुगेकी अतिरिक्त जिल्ला मजिस्ट्रेट सुमित्रा मिश्राले सात जनाको शव फेला परेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनका अनुसार मृतक सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।
घटनापछि फरेन्सिक (एफएसएल) टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनालाई दुःखद भन्दै राहत तथा उद्धार कार्य तीव्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।